प्रधानाध्यापक मोहनपाल राई सम्मानित


 


अर्जुन दुङमाली राई
पौवादुङमा (भोजपुर) माघ २४
जिल्लाको मानेडाँडा स्रोतकेन्द्रले सेवाक्षेत्रभित्रका एक जना शिक्षक र एक जना विद्यालय कर्मचारीलाई सम्मान गरेको छ । आइतबार स्रोतकेन्द्र मानेडाँडा माविमा एक औपचारिक सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी सीताराम श्रेष्ठद्वारा दुवैलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

विद्यालय अनुगमन तथा निरीक्षणको क्रममा जिशिअ सहितको टोली दुङमा क्षेत्रमा आइपुगेका हुन् । सम्मानित हुनेहरुमा मानेडाँडा मावि स्रोतकेन्द्र विद्यालयमा विगत ३९ वर्ष अघि देखि शिक्षण सेवामा रहनु भएका प्र.अ. मोहनपाल राईलाई दुङमा क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याए बापत दीर्घसेवा सम्मान गरिएको हो ।

त्यसैगरी सानोदुम्मा माविमा विगत एक वर्ष अघि देखि कार्यरत विद्यालय सहयोगी बावुराम तामाङलाई आफ्नो कर्तव्य एवम् जिम्मेवारी इमानदारीताका साथ निर्वाह गरी विद्यालय रुपमान्तरणमा टेवा पुर्याए बापत थप उत्प्रेरणाको निम्ति सम्मान गरिएको जानकारी मानेडाँडा स्रोतकेन्द्रका स्रोतव्यक्ति रामकुमार चौधरीले बताएका छन् ।

मानेडाँडा मावि वास्तिममा वि.सं. २०३४ सालमा नियुक्ति पाई हाल सम्म सोही विद्यालयमा निरन्तर रुपमा कार्यरत रहेका प्रअ. मोहनपाल राई दुङमा क्षेत्रका एक अग्रणी शिक्षक हुन् ।

यसैबीच सम्मान कार्यक्रम अगाडि जिशिअ, शाखा अधिकृत, स्रोतव्यक्ति, प्रअहरुसँगको संयुक्त बैठक बसी शिक्षक तथा विद्यालयका राम्रा अभ्यासहरु, आइ परेका समस्याहरुको बारे छफफल तथा अन्तरक्रिया साथै जिल्ला शिक्षा कार्यालय भोजपुरद्वारा तयार गरिएको २५ बुँदे करार सम्झौता फाराममा १७ वटा विद्यालयका प्रअ. स्रोतव्यक्ति र जिशिअद्वारा हस्ताक्षर गरिएको छ ।

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्