दुर्गम गाउँमा सेनाद्वारा स्वास्थ्य शिविर


 


लमजुङ (बेसीसहर), फागुन १७

नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन् । उत्तरी लमजुङको विकट गाउँ घेर्मुमा नेपाली सेनाको पशुपतिप्रसाद गणद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित भएका हुन् ।

नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनका लागि नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा हाडजोर्नी, स्त्रीरोग, छाला, नाक, कान, दाँत एवम् आँखासम्बन्धी जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो ।

शिविरमा विशेषज्ञ डाक्टरसहित नौ जना चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए र आवश्यकताअनुसार औषधि पनि प्रदान गरिएको थियो ।

नियमित स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम गाउँका बासिन्दा आफ्नै गाउँमा नेपाली सेनाको टोली आएर सेवा दिएपछि निकै खुसी भएका थिए । “सेनाले बन्दुक मात्रै बोक्छ भन्ने लागेको थियो, हामी जस्ता विकट गाउँमा सेवा पनि गर्दो रहेछ ।” सेवा लिन आउनुभएकी ५० वर्षीया दुर्गादेवी गुरुङले भन्नुभयो ।

जिल्लाका दुर्गम भेगका स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्ने तथा नागरिक र सेनाबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरेको नेपाली सेनाको पशुपतिप्रसाद गणका गणपति सुभाङ्गद कटुवालले बताउनुभयो ।

घेर्मु स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा घेर्मुसहित बाहुनडाँडा र ताघ्रिङका सर्वसाधारणले सेवा लिएका थिए । शिविरका लागि रोटरी क्लब अफ नारायणी मिड टाउन, चितवनस्थित मौलाकालिका अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले सहयोग गरेका थिए । रासस

प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्