पाथिभरामा केबलकार निर्माण विवाद : फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा
ताप्लेजुङ । ताप्लेजुङमा ‘नो केबलकार’ समूहको प्रदर्शन जारी रहँदा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पाथिभरा मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको उक्त समूहले गृह मन्त्रालयको वार्ता समितिलाई अवज्ञा गरेपछि प्रशासनले प्रदर्शनलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको हो ।
शनिबार राति बसेको सुरक्षा समिति बैठकपछि प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा जारी गरेका हुन्। पुङलिङ नगरपालिका बजार क्षेत्रमा हुनसक्ने प्रदर्शन, जुलुस तथा सम्भावित हुलदंगा र झडपको जोखिमका कारण आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा लागू गरिएको जनाइएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार, निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर सभा, प्रदर्शन, घेराउ तथा जुलुस गर्न प्रतिबन्ध लगाइएको छ। शनिबार साँझ प्रहरी र नो केबलकार समूह बीच झडप हुँदा आइतबार ताप्लेजुङमा निधेष आदेश लगाउनुपर्ने अवस्था आएको प्रशासनको भनाई छ ।
यसै घट्नालाई लिएर ताप्लेजुङमा प्रहरीले केबलकार समूहका १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन । प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले १५ जना प्रदर्शनकारी पक्राउ परेको जानकारी दिए। उनले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताए ।
नो केबलकार समूह पक्षले भने १५ भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको दाबी गरेको छ । उनीहरूले एकै घरबाट खाना खादै गरेका २६ जनालाई पक्राउ गरेर बेपत्ता बनाएको बताएका छन् ।
प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार
















