रिंकु मृत्यु प्रकरण : पञ्चायतमा सहभागी तीन जनाविरुद्ध पाँच दिन म्याद थप
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाविरुद्ध म्याद थप भएको छ ।
सिरहा प्रहरीले आइतबार मात्रै घटना दबाउन पञ्चायती बसेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । ती मध्ये ३ जनाको भूमिका शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
उनीहरुमाथि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले सोमबार सिरहा जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।
सोमबार मात्रै अदालतले ३ जनाविरुद्ध ५ दिनको म्याद थप गरेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए । उनका अनुसार म्याद थप भएर हिरासतमा हुनेहरुमा नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दास छन् ।
उनीहरूलाई पञ्चायतमा मिलापत्र गर्न र लेनदेन गर्नका लागि संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।
सिरहा जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, आरोपितहरूको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखिएको छ ।
रिंकुको परिवारले ८ जनाविरुद्ध चारवटा आरोपमा पूरक जाहेरी दिएको थियो, जसमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गर्ने विषय समावेश थिए। यस प्रकरणमा सामूहिक बलात्कारका तीन आरोपी र गाउँका पाँच जना पञ्चायती सदस्यहरू संलग्न रहेका छन् ।
गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु ६ घण्टासम्म वपेपत्ता भएकी थिइन् ।
२८ गतेको बिहानीपख ३ बजेतिर उनी आफ्नै घरमा अचेत भेटिएकी थिइन् । शौच गर्न निस्केका बेला उनलाई स्थानीय तीन युवाहरुले घरबाट केही पर लगेर सामूहिक बलात्कार गरेको पीडित परिवारको दाबी छ ।
रिंकुले आफूमाथि बलात्कार भएको विषय पञ्चायतीमा समेत बताएकी थिइन् । उक्त विषय बाहिर आएपछि घटना दबाउन पञ्चायती बसेको र पैसाको मोलमोलाई भएको प्रहरी अनुसन्धानबाट पनि पुष्टि भएको छ ।
पञ्चायती बैठकमा पीडितको दवाबमा १ लाख ४० हजार जरिवाना भराउने र प्रहरीमा जान नदिने निर्णय भएको थियो ।
प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार
















