बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ



गोरखा। १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखाबाट एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा रहेका छन्।

उनी गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनीविरुद्ध पीडित बालिकाका आफन्तले जाहेरी दिएका थिए। जाहेरीमा गत पुसदेखि पटक–पटक ती विद्यार्थीमाथि जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ ।

गत माघ २८ गते राति पनि उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ। उनीविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको छ।

गत ७ फागुनमा पक्राउ परेका उनीमाथि जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्