दक्षिण कोरियामा एक नेपाली मृत फेला



काठमाडौं, फागुन १४ । दक्षिण कोरियामा एक नेपाली युवा मृत फेला परेका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न ६ महिना अघि त्यहाँ गएका तुलसी पुन मगर गत शुक्रबार राति मृत अवस्थामा फेला परेका हुन् ।

उनी दक्षिण कोरियाको छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्ममा कार्यरत थिए । उनले मानसिक तनावका कारण आत्महत्या गरेको हुनसक्ने एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरूङले बताए ।

बिरामी भएको अवस्थामा समेत बिदा नपाएको अनि उल्टै नेपाल पठाइदिने भनेर मानसिक तनाव भोग्न परेको भनेर सूचना पाइएको उनले बताए ।

उनका अनुसार बिरामी परेका मगरलाई उपचारमा सहयोग गर्नुको सट्टा घर पठाइदिने अनि काम गरेको पत्र पनि नबनाइदिने लगायतका मानसिक यातना समेत दिइएको बताइएको छ ।

त्यस्तै रोजगारदाता र नेपाली सुपरभाइजरबाट निरन्तर भइरहेको यातना सहन नसकेर मगरले आत्महत्या गरेको अनुमान छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्