चुडामणि शर्मा र बेचन झाविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र पौडेलको इजलासमा
काठमाडौँ । कर फर्छ्योट आयोग भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका निलम्बित सहसचिव चुडामणि शर्माको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेशी तोकिएको छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन १ गते १० अर्ब राजस्व चुहावट गरी राज्यलाई हानी पुर्याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
२०८० जेठमा न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले दोषी ठहर गर्दै ९ वर्ष कैदउसहित बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड १७ लाख रुपैयाँ तिराउन आदेश गरेको थियो ।
उक्त फैसलाविरुद्ध गत साउनमा उनी बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च गएका थिए । फौजदारी कानुनमा १० वर्षसम्म कैद सजाय पाएका आरोपीले थुनाबाहिर रहेरै पुनरावेदन गर्न पाउने भए पनि बिगो र जरिवानाबापतको धरौटी बुझाउन नसकेर थुनामा बस्नुपरेको भन्दै उनले निवेदन दिएका थिए ।
यसैबीच, सर्वोच्च अदालतमा आज नक्कली शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको मुद्दामा पनि सुनुवाइ हुँदैछ । सुनुवाइका लागि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेशी तोकिएको छ ।
गएको असार ५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा कञ्चनपुरबाट पक्राउ परेका थिए । शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् । भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका थिए ।
उनको उच्च राजनीतिक नेतृत्वसँग कनेक्सन भएको हुनसक्ने अनुमान गरिएको छ । कांग्रेसका शीर्ष नेता र मधेश केन्द्रीत दलहरूसँग उनी निकट रहेको बताइन्छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार
















