जुवा खालबाट कांग्रेस-एमालेका स्थानीय नेता पक्राउ



काठमाडौं । शंखरापुर नगरपालिका–३ जरसिंह पौवास्थित एक रिसोर्ट जुवातास खेल्दै गरेको अवस्थामा कांग्रेस र एमालेका स्थानीय नेतासहित ११ जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले जुवातास खेल्दै गरेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो ।

हिमालयन भ्यू पोइन्ट रिसोर्टका संञ्चालक ज्ञानबहादुर तामाङसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाट प्रहरीले ५ लाख ३३ हजार २ सय र ३ बुक तास बरामद गरेको छ।

पक्राउ परेकामध्ये केही भने कांग्रेस र एमालेका स्थानीय नेताहरू रहेको खुलेको छ ।

पक्राउ परेका रामबहादुर तामाङ स्थानीय निर्वाचन २०७९ मा शंखरापुर ३ को वडा सदस्यको उम्मेद्वार थिए। त्यतिबेला नेकपा एमालेबाट उम्मेदवार बनेका उनले जम्मा ८८ मत पाउँदै पराजित भएका थिए ।

त्यस्तै पक्राउ परेका सानबुहादुर घ्लान कांग्रेसका स्थानीय नेता रहेको खुलेको छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट शंखरापुर–१ को वडाध्यक्षको उम्मेदवार बनेका थिए ।

त्यतिबेला उनी ५२७ मत ल्याउँदै पराजित भएका थिए। त्यसैगरी माओवादी केन्द्रका कार्यकर्ता श्यामबहादुर तामाङ पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्