एयरपोर्ट भन्सारका हाकिम बिदामा, काम ठप्प !
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीको कारण व्यवसायी हैरान भएका छन् । हाकिम नभएको भन्दै कर्मचारीले नियमित जाँचपासका काम नगर्दा हप्तादेखि भन्सारको कार्गोमा सामान थुप्रिएको छ।
अर्थ मन्त्रालयले हालै मात्र दिलिप कुमार गौतमलाई विमानस्थलको भन्सारको प्रमुखमा सरुवा गरेको थियो। उनी केही दिन हाजिर गरेर बिदामा बसेका छन्।
जसकारण शान्तिराम कोइराला निमित्त प्रमुख छन्। तर, हाकिम नभएको भनेर जाँचपासमा संलग्न कर्मचारीले काम रोकेका छन्।
एयरपोर्ट भन्सारमा जाँचपासमा ठूलो सेटिङ हुने गर्दछ। केही ठूला व्यापारीले भन्सार प्रमुखसँगै मिलेर न्यून मूल्याङकन गरी भन्सार छल्ने गरेका छन्। हाल नयाँ हाकिम आएपछि त्यही लाइन मिलाउन जाँचपासको काममा ढिलाई भइरहेको छ।
जसकारण सामान आयात गर्ने व्यवसायीहरु मर्कामा परेका छन्। ‘ हाकिमसाब आएपछि जाँचपास हुन्छ भनेर फकाउने गरिएको छ,’ एक व्यवसायीले भने,‘ झन्डै तीन सातादेखी सामान भन्सारमा रोकिएको छ।’
प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार
















