स्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँसहित चार जना पक्राउ
कपिलवस्तु । स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित कपिलवस्तु प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चार जना विहीबार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले बाणगंगा नगरपालिका-४ जितपुर स्थित चार नम्बर चोकमा रहेको केसी फेन्सी पसलको गोदामबाट ९ लाख भारतीय रुपैयाँ बरामद गरेको थियो।
प्रहरीले अन्डरग्राउण्डमा रहेको कपडाको गोदाममा बसिरहेको अवस्था प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ बस्ने ३० वर्षीय गोविन्द विकलाई नियन्त्रणमा समेत लिएको छ।
उनको साथबाट पाँच सय दरका १ हजार ८०० थान भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी मायादेवी गाउँपालिका ८ बस्ने ३८ वर्षीय सोमनाथ कसौधनको साथबाट एक हजार दरका १ हजार २९४ थान र पाँच सय दरका ३१२ थान नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुसँगै रहेका रुपन्देहीको बुटवल उपमहानगरपालिका १६ बस्ने ४१ वर्षीय बसन्त खरेल र कपिलवस्तु नगरपालिका ११ बस्ने ४२ वर्षीय शेषनारायण गिरी समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई भारतीय र नेपाली रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रुपन्देहीमा पठाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार
















