राजावादीले प्रदर्शन गर्ने भएपछि काठमाडौँमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’



काठमाडौं । काठमाडौंमा राजावादीहरुले शक्तिप्रदर्शनको तयारी गरेपछि सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने अवसर पारेर राप्रपासहित राजावादीहरूले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको हो ।

पोखराबाट फर्किएपछि ज्ञानेन्द्रलाई जुलुससहित चक्रपथ हुँदै महाराजगञ्जस्थित निर्मल निवास लैजाने उनीहरूको तयारी छ । पूर्वराजा शाह आज पोखराबाट काठमाडौं फर्कँदै छन् ।

पछिल्लो केही समयदेखि गण्डकी प्रदेशका विभिन्न धार्मिक स्थलको भ्रमण गरिरहेका शाह आज अपराह्न काठमाडौँ आउन लागेका हुन् । उनी दिउँसो साढे तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रियमा अवतरण गर्नेछन् ।

राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा करिब ६ हजार राजावादीहरू सहभागी हुनसक्ने प्रहरीको आँकलन छ । प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको प्रहरीले जनाएको छ ।

आज बिहानैदेखि काठमाडौंका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहित र सादा पोशाकका प्रहरी टोली परिचालित छन् ।

प्रहरीले भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाएको छ । शनिबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो ।

बैठकमा भिड अनियन्त्रित भई हुलहुज्जत, अमर्यादित, अवाञ्छित र गैरकानुनी क्रियाकलाप हुनसक्ने भएकाले त्यसलाई रोक्ने तयारीबारे छलफल भएकोे थियो ।

प्रकाशित मिति: २५ फाल्गुन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्