भक्तपुर घटना : १०० रुपैयाँले लियो ओमप्रकाशको ज्यान
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा मृत अवस्थामा भेटिएका ओमप्रकाश राईको हत्या १०० रुपैयाँको विवादले भएको खुलेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले एक आरोपीलाई पक्राउ गरेपछि त्यसको रहस्य खुलेको हो । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर छन् ।
भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेका अनुुसार जिल्ला प्रहरी कार्यालय भक्तपुरले पक्राउ परेका परेकालाई आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रहरीका अनुसार १०० रुपैयाँको विवादमा ओमप्रकाशको हत्या गरेको हिमालले प्रहरीसमक्ष बताएका छन् ।
एक अनुसन्धान अधिकृतका अनुसार १०० रुपैयाँ ओमप्रकाशले खोसेर लगेको र त्यही विवादमा ढुंगाले हान्दा हत्या भएको हो ।
१०० रुपैयाँ पैसा नदिएपछि भुईमा लडाएर पटक पटक हिर्काएर हत्या गरेको उनको भनाइ छ ।
पक्राउ परेका हिमालले प्रहरीले समक्ष आइतबारको साँझ दुबै जना मिलेर मदिरा सेवन गरेको बताएका छन् । त्यसपछि भेटी टिप्न भन्दै निलबाराही पिकनिकस्थल पुगेको बताएका छन् । भेटी टिपेर सुत्न जाने क्रममा भने १०० रुपैयाँको विवाद हुँदा हत्या भएको प्रहरीले बताएको छ ।
उनीहरु दुबै जना कवाडी संकलक हुन् ।
आइतबार बिहानै ५ः५५ बजेतिर निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा उनी मृत भेटिएका थिए ।
प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो ।
शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान गरेको थियो ।
मृतकका छोरा समेत सम्पर्कमा आएर शव सनाखत गरेका थिए । मृतक खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय वर्षीय ओमप्रकाश राई रहेको खुलेको थियो ।
प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार
















