मोर्चाको बन्दका कारण तराई मधेशको जनजीवन प्रभावित


 


राजविराज, फागुन २४

राजविराजमा एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले हस्तक्षेप गर्दा चार जनाको मृत्यु भएपछि मधेश मोर्चाले आह्वान गरेको मधेश बन्दका कारण आज बिहानैबाट जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण कारण सप्तरी सिरहा लगायत तराईका जिल्लाहरुमा बिहानै देखि लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने बजार पसल र शिक्षण संस्थाहरु पनि ठप्प रहेका छन् ।

मोर्चाका कार्यकर्ताहरु बिहानैदेखि चोक चोकमा निस्केर प्रदर्शन गरिरहेका छन् । बन्दमा अप्रिय घटना हुन नदिन बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसैबीच गृहमन्त्रालयले राजविराज घटनापछि तराई मधेशको सुरक्षा व्यवस्थामा थप कडाई गरेको छ । एमाले र मोर्चा आमनेसामने हुँदा हिंसा भड्कने खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाई गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै सप्तरी घटनापछि मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ । सभामुख ओनसरी घतीसँग आज भेट गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा औपचारिक पत्र बुझाउने तयारी भएको मोर्चा नेता केशव झाले जानकारी दिए ।

एमालेको मेचीमहाकाली अभियान अन्तरगत हिजो सप्तरीको राजविराजमा आयोजित कार्यक्रमलाई बिथोल्ने क्रममा प्रहरीको गोली लागेर पिताम्बर मण्डल, सन्जन मेहता, दिगम्बर यादव, र आनन्दप्रसाद साहको मृत्यु भएको थियो  ।

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्