खोटाङको विमानस्थल कालोपत्रे भयो


 


खोटाङ, असार ९

खाेटाङको खानीडाँडास्थित मनमाया राई विमानस्थल कालोपत्रे भएको छ । पाँच सय ९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग सात करोड २४ हजार तीन सय ८० रूपैयाँ खर्च भएको विमानस्थल आयोजना प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताए । पाँच सय ५० मिटर कच्ची धावनमार्गमै उडान भइरहेको विमानस्थलको ४० मिटर थपेर पाँच सय ९० मिटर कालोपत्रे गरिएको हो ।

धावनमार्ग कालोपत्रे भए पनि ट्रनिङप्याड, ट्याक्सी–वे, एप्रोन, ढल, टेवापर्खाल र कटिङफिलिङको काम गर्न भने बाँकी छ । यसले धावनमार्गमा कुनै असर नपर्ने भएकाले नियमित उडान भर्न सकिने प्रमुख इन्जिनियर श्रेष्ठले बताए ।

यो विमानस्थलको कालोपत्रे लामा बुइल्डर्स/च्याङ्मिला जे.भी. निर्माण कम्पनीले गरेको हो । विमानस्थल कालोपत्रेका लागि २०७२ जेठ १५ गतेभित्र सम्पन्न गर्ने गरी २०६९ असोज १५ गते दुई पक्षीय सम्झौता भएको थियो ।

विमानस्थल कालोपत्रे भइसकेकाले उडान भर्न कुनै समस्या नपर्ने आयोजना प्रमुख इन्जिनियर श्रेष्ठले बताए । चाँडै विमानस्थलमा हवाई उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति: ९ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्