सिरहाको लहानस्थित एमाले कार्यालयमा आगजनी


 


सप्तरी, फागुन २४

सप्तरी घटनाको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको लहानस्थित एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् । लहानमा रहेको एमाले नगर कमिटीको कार्यालयमा रहेका फर्निचर तथा काजगपत्र मोर्चाका कार्यकर्ताले सडकमा ल्याएर जलाएका हुन् ।
त्यसक्रममा उनीहरुले कार्यालयमा तोडफोडसमेत गरेका छन । भाडाको घरमा राखिएको कार्यालयको झ्यालका सिसा फुटेका छन् । आगजनीपछि लहानको भित्री क्षेत्रमा फाट्टफुट्ट खुलेका पसलहरु बन्द गराउँदै हिँडेका मोर्चाका करिब ५० जना कार्यकर्तालाई प्रहरीले तितरबितर पारेको छ ।

लहान, गोलबजार, मिर्चैयालगायतका स्थानमा टायर बालेर प्रदर्शन भइरहेको छ । सोमबार राजविराजमा एमाले जनसभा सकिएपछि शीर्ष नेता तथा कार्यक्रमका सहभागीहरु फर्किने क्रममा मोर्चाका कार्यकर्ताले ढुंगामुढा तथा विरोध गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो ।

त्यसक्रममा तीन जनाको मृत्यु भएको थियो । घटनाको विरोधमा मंगलबार राजविराजमा राष्ट्रिय मानवअधिकार आयोगको गाडी तथा विभिन्न सरकारी कार्यालयमा तोडफोड र ढंगामुढा गरिएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्