नेपाल र थाइल्यान्डबिच गहिरो सम्बन्ध छ : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्यान्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।
थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
उनले नेपाल र थाइल्यान्डकाबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता-जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरुबीच छलफल भएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भने -‘नेपाल र थाइल्यान्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको छ । थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि म आह्वान गर्दछु।’
नेपाल र थाइल्यान्डबीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको बताउदै अब अन्तरराष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्ने बताए ।
प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री शिनावात्लाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै छिट्टै नेपालको भ्रमण हुने विश्वास पनि व्यक्त गरेका छन् ।
थाइल्यान्डको औपचारिक पहिलो भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली मंगलबार बैंकक पुगेका छन् ।
प्रकाशित मिति: १९ चैत्र २०८१, बुधबार
















