औषधि र उपकरण बोकेर २२ नेपाली सेनाको टोली म्यानमार प्रस्थान



काठमाडौं । म्यानमार भूकम्पका घाईतेहरुको उपचार र उद्धारका लागि २२ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल सरकारले म्यानमारमा मेडिकल सहायतासहितको २२ सदस्यीय टोली पठाएको हो।

नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार टोली त्यसतर्फ गएको हो । टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू रहेका छन् ।

उक्त टोलीले करिब एक साता म्यानमारमा रहेर भूकम्पमा परेर घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिने नेपाली सेनाले बताएको छ ।

म्यानमार भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।

सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै प्रभावित क्षेत्रहरूमा अझै सम्पर्क स्थापित हुन सकेको छैन ।

प्रकाशित मिति: १९ चैत्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्