एयरपोर्ट ल्याउँदा दुर्गा प्रसाईंको हातमा हत्कडी, प्लेनभित्र खोलियो
काठमाडौं । प्रहरीले झापाको चन्द्रगढी विमानस्थल पुर्याउँदा दुर्गा प्रसाईंलाई हत्कडी लगाएको भएपनि प्लेनभित्र भने हत्कडी खोलिएको छ ।
काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडिगार्ड दीपक खड्का अहिले प्लेन समेत चढिसकेका छन् । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।
प्लेनभित्र भने उनको हत्कडी खोलिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार प्रसाईं र उनका अंगरक्षक खड्कालाई भद्रपुरबाट पक्राउ गरेर बुद्ध एयरको जहाजमार्फत् काठमाडौं ल्याइएको हो ।
उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए ।
त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् ।
उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार
















