गणतन्त्र खतरामा नभएको प्रचण्डको दाबी
विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र खतरामा नभएको दाबी गरेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले दलहरु एक हुनुपर्ने तर गणतन्त्र खतरामा पर्छ भन्ने भाष्य ठीक नभएको बताए ।
‘पहिलो कुरा अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्याजस्तो गरी सोच्न जरुरी छैन । जनाधार र जनमतको दृष्टिकोणले पनि अहिले दलहरू चाँहि गणतन्त्रको रक्षाको निम्ति एक हुनैपर्ने, नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक छैन,’ प्रचण्डले भने ।
साथै गणतन्त्रका सवालमा दलहरूबीचमा कहिल्यै पनि विमति नरहेको उनको भनाइ छ । उनले भने,’गणतन्त्र खतरामा छैन । गणतन्त्रमा हामी एक यसै पनि छौं, तेसै पनि छौं ।’
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार
















