भारतको अघोषित ‘जल युद्ध’को जवाफ दिन पकिस्तान तयार, ‘ब्लेम गेम’ खेलेको आरोप
काठमाडौं । जम्मु कश्मिरको पहलगाममा एक नेपाली नागरिसहित २६ जनाको आतंकवादीबाट भएको हत्यापछि भारत र पाकिस्तानबीच मौखिक युद्ध शुरु भएको छ । पाकिस्तान समर्थित आतंकवादीले पहलगाम घटना गराएको भन्दै भारतले इस्लामावादमाथि ५ वटा प्रतिबन्ध लगाएको छ ।
भारतले बुधबार पाकिस्तानसँग १९६० मा भएको सिन्धु जल सन्धि तत्काल प्रभावमा निलम्बन गर्ने निर्णय गरेको छ । कश्मीरको पहलगाममा भएको चरमपन्थी हमलाको एक दिनपछि भारतले यो निर्णय लिएको हो ।
बुधबार क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठकपछि यो निर्णय लिइएको हो । समितिको बैठक प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बोलाइएको थियो । जसमा रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र विदेश मन्त्री एस। जयशंकर पनि सहभागी थिए ।
बैठकपछि विदेश सचिव विक्रम मिस्रीले बुधबार राति करिब पत्रकार सम्मेलनमा भने–‘१९६० मा भएको सिन्धु जल सन्धि तत्काल प्रभावमा निलम्बन गरिन्छ । यो निलम्बन तबसम्म रहन्छ जबसम्म पाकिस्तानले सीमा पारबाट आतंकवादलाई स्थायी रूपमा समर्थन दिन बन्द गर्दैन ।’
उता पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले विगतमा जस्तै भारतले यसपटक पनि ‘ब्लेम गेम’ खोलेको भन्दै भारतीय आरोपको प्रतिवाद गरेका छन् ।
बीबीसी उर्दुका अनुसार पाकिस्तानी उपप्रधानमन्त्रीले भारतको तर्फबाट सिन्धु जल सम्झौता स्थगनदेखि पाकिस्तानीलाई भिसा नदिनेसम्मका निर्णयलाई हतार र बचपनाको संज्ञा दिएका छन् ।
उनले भारतलाई पाकिस्तानले व्यवहारबाटै जस्ताको तस्तै जवाफ दिने बताएका छन् । उनले आतंकी हमलामा पाकिस्तानको हात रहेको प्रमाण भारतसँग भएर सार्वजनिक गर्न चुनौति समेत दिएका छन् ।
पाकिस्तानका विदेश मन्त्री तथा उपप्रधानमन्त्री इसहाक दरले पनि भारत यसरी एकपक्षीय निर्णय लिन नसक्ने बताएका छन् । दरले समा टेलिभिजनसँगको कुराकानीमा भनेका छन्–‘हाम्रो विगतको अनुभवले देखायो कि भारत यस्तो गर्न सक्छ । म अहिले टर्कीमा छु तर पाकिस्तानको विदेश मन्त्रालयले पहलगाम हमलाको निन्दा गर्यो । भारतले सिन्धु जल सन्धि बाहेक अरू चार निर्णय पनि लियो, तिनको जवाफ सजिलै मिल्नेछन् ।’
उनी थप्छन्–‘सिन्धु जल सन्धिमा भारत पहिलादेखि अडिग छ । पानी रोक्नका लागि केही जलाशय बनाएका छन् । यसमा विश्व बैंक पनि छ र यो सन्धि बाध्यकारी हो । यसमा एकपक्षीय निर्णय हुँदैन । यस्तो भए विश्वमा मनमानी सुरु हुन्छ । ‘जसको लाठी, उसको भैंसी’ होइन यो । भारतसँग कानूनी जवाफ छैन, यो मुद्दा पाकिस्तानको कानून मन्त्रालयले हेर्नेछ ।’
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार
















