धरान रोजगार मेला–२०८२ सुरु
धरान (सुनसरी), ११ वैशाख । धरान रोजगार मेला-२०८२ आजबाट धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाइस्कुलको खेल मैदानमा सुरु भएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग धरान उपमहानगरपालिकाको आयोजना र धरान उद्योग वाणिज्य सङ्घको संयोजनमा सुरु भएको उक्त मेला भोलि शुक्रबारसम्म सञ्चालन हुनेछ ।
युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको धरान रोजगार मेला आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उद्घाटन गर्नुभएको हो ।
मेलाले साना–ठूला रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइनुका साथै स्थानीय उद्योग, व्यवसाय, पर्यटन, होटल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका रोजगारदाता र बेरोजगार युवालाई रोजगारको अवसरमा टेवा पुग्ने मन्त्री राईले विश्वास व्यक्त गर्नुभयो ।
मेलाबाट पाँच सय युवाले प्रत्यक्ष रोजगारी पाउने र करिब पाँच हजार युवाले रोजगारीको अवसर, क्यारियर परामर्श, सीपमूलक तालिम र अन्तर्वार्ता जस्ता सेवा प्राप्त गर्न सक्ने विश्वास गरिएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेलाले स्थानीय युवाको विदेशपलायन रोक्ने र उद्योगको जनशक्ति अभाव पूरा गर्ने ऐतिहासिक पहल हुनुका साथै रोजगारदातालाई आवश्यकताअनुसार जनशक्ति उपलब्ध हुनेछ भने रोजगारीको खोजीमा भएका युवालाई विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ ।
मेलामा प्राविधिक, प्रशासनिक र श्रमिक वर्गका साथै स्थानीय उद्योग, व्यवसाय, तालिम संस्थालगायतका विभिन्न ३१ वटा स्टल राखिएको धरान रोजगार मेलाका कार्यक्रम संयोजक निर्मला बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न रोजगारदाता सङ्घसंस्थाको स्टल छन् ।
सूचीकृत भएका बेरोजगार जनशक्ति आफ्नो क्षमता, योग्यताअनुसार सम्बन्धित रोजगारदाताको स्टलमा गएर रोजगारी प्राप्त गर्नसक्ने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, कोशी प्रदेशसभा सदस्य यशोदा कायास्थ, धरान इलाका प्रशासन कार्यालयका प्रमुख लक्ष्मीप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार
















