नेप्सेमा समान्य सुधार, कारोबार रकम भने ३ अर्बले बढ्यो
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा झिनो अंकको बृद्धि भएपनि कारोबार रकम भने उल्लेख्य बढेको छ ।
अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको छ । अघिल्लो दिन ७ अर्ब ८७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८७ करोडको भयो ।
उच्च कारोबारका बीच बजारको परिसूचक नेप्से सामान्य अंक बढेको छ । आज नेप्से परिसूचक ३.५८ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६६१ मा कायम भएको छ ।
कारोबारकै क्रममा १२ः२५ बजे २६८४ अंकसम्म पुगेको थियो । आज सबैभन्दा धेरै बढ्नेमा लगानी सेक्टर छ भने घट्नेमा फाइनान्स सेक्टर रहेको छ ।
बैंकिङ ०.३९, विकास बैंक ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटे । होटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, लगानी १.७७, उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य प्रतिकित्ता १ हजार ४२ रुपैयाँ ५० पैसा पुगेको छ भने क्रेस्टको ८ सय ६१ रुपैयाँ ९० पैसा पुगेको छ ।
भूगोल इनर्जीको ७.६३, ङादी ग्रुप पावरको ७.५५, सानिमा माइ हाइड्रोपावरको ७.१९, अरुणभ्याली हाइड्रोपावरको ७.०७ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो भने नारायणी डेभलपमेन्टको ५.०२ प्रतिशत घट्यो ।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार
















