सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा, दुईजना पक्राउ
काठमाडौं । सुनसरीबाट सशस्त्र प्रहरी बलले ७८३ किलोग्राम गाँजा सहितको ट्रक र दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त सुरक्षाफौजले गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई बुधवार नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार धरान उपमहानगरपालिका-१३ निशाने डाँडा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि चेकजाँच गर्दा उक्त परिणामको गाँजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।
ट्रकको ड्राइबर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउँदै गरेको गाँजा सहितको ट्रक, चालक सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-१ बस्ने ३१ वर्षका मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका-६ बस्ने १८ वर्षका आकाश राईलाई समेत पक्राउ गरिएको बताइएको छ ।
नियन्त्रणमा लिइएकाहरूलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीको लागि बुधवार राती नै जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा बुझाइएको छ ।
प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार
















