अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना
काठमाडौं । अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीहरुले आज विमानस्थलको गेट अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा दर्जन बढी संघसंस्थाले विमानस्थलको मुख्य गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका छन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी संघसंस्थाका अगुवाहरूले अन्तर्राष्ट्रिय उडान नियमित सुरु नगरे आन्तरिक उडान बन्द गराउनेदेखि सम्बन्धित मन्त्रीहरूको बहिष्कारदेखि काठमाडौंमा पुगेर मन्त्रालय घेराउसम्मको कार्यक्रम गर्ने चेतावनी पनि दिएका छन् ।
गत वर्ष कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द भएपछि जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले एक महिना जति उडान गरेका थिए । तर, भिजिबिलिटीको समस्या देखाउँदै उडान स्थगित गरेका थिए ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार
















