सांसदले सरकारलाई भने – भारत-पाकिस्तान तनावबाट जोगिने तयारी कस्तो छ ?
काठमाडौं । प्रतिनिधि सभा सदस्यहरूले छिमेकी मुलुक भारत र पाकिस्तानबिचको क्षेत्रीय तनावप्रति चिन्ता ब्यक्त गरेका छन् ।
उनीहरूले क्षेत्रीय अशान्तिको प्रभाव नेपालमा पनि पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले दुवै देशका नेपालीहरूको सुरक्षामा सरकारले उचित ध्यान दिनसक्नुपर्ने बताएका थिए ।
सांसद शिशिर खनालले एक नेपाली नागरिकसहित २६ जनाको ज्यान लिनेगरी पहलगाम काश्मीरमा भएको आतंकवादी हमलाप्रति पार्टीका तर्फबाट कडा निन्दा गरे ।
उनले आतंकवादले कसैको पनि हित नगर्ने भन्दै पहलगाम आक्रमणपछि भारत पाकिस्तानबिच तनावको स्थिति देखिएकोमा चिन्ता व्यक्त गरे ।
त्यस्तै सांसद शेरबहादुर कुँवरले भारत पाकिस्तान तनावले दक्षिण एसियामा अशान्तिको संकेत देखिएको भन्दै नेपाल कुनैपनि आतंकवाद र गतिविधिका विरुद्धमा रहेको बताए ।
उनले भने, भारत पाकिस्तान द्वन्द्वबाट आइपर्ने समस्याबाट हामीले सर्तकता अपनाउनुपर्छ ।’
सांसद सरस्वती सुब्बाले भारत पाकिस्तान तनावको असर दक्षिण एसियामा परेको भन्दै त्यसको असर तत्काल नेपालमा पनि पर्न सक्ने बताइन् ।
उनले भनिन्, ‘नजिकको छिमेकीको अर्को छिमेकीसँग द्वन्द्व भयो भने हामीले भोग्नुपर्ने सम्भावित चुनौतिहरु, भुराजनीतिक दवाव, कूटनीतिक असन्तुलन, खुला सिमाना,सुरक्षा जोखिमलाई ध्यान दिएर भारत र पाकिस्तानसँग संवाद गर्नुपर्छ ।’
कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच ड्रोन र मिसाइल आक्रमण भएको थियो ।
उक्त आक्रमणपछि भारतले ‘अपरेसन सिन्दूर’ घोषणा गरेको थियो । सोही अनुसार बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको थियो ।
उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको थियो ।
पाकिस्तानले बिहीबार अपराह्न उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्ष्य गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतले बताएको छ ।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार
















