भारत र पाकिस्तानबीच युद्धविराम, कहिलेसम्म टिक्ला ?
काठमाडौं । भर्खरै युद्धमा होमिएका भारत र पाकिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ ।
अमेरिकाको मध्यस्थतामा यी दुई देश शनिबार युद्धविराम गर्न सहमत भएका हुन् । भारत र पाकिस्तान दुवै मुलुकले युद्धविराम तत्काल लागू भएको घोषणा गरेका हुन् ।
पाकिस्तानी विदेशमन्त्री इशाक डारले ट्विट गर्दै युद्धविराम भएको घोषणा गरेका छन् । उता, भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि पत्रकार सम्मेलन गरी युद्धविराम भएको घोषणा गरेका छन् ।
दुवै अधिकारीबीच यही १२ मेमा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।
यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रातभरको वार्ताबाट युद्धविराममा सहमति भएको बताएका थिए । शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले ‘अमेरिकाले गरेको छलफलपछि दुवै देश यसका लागि तयार भएको’ प्रस्ट पारेका थिए ।
युद्धविराम घोषणा गरिएको केही घण्टामै पाकिस्तानले सम्झौता उल्लंघन गर्दै गोलाबारी सुरु गरेको आरोप पनि लागिरहेको छ। तर पाकिस्तानले यसलाई अस्वीकार गरेको छ। साथै पाकिस्तानले युद्धविरामलाई आफ्नो ‘ऐतिहासिक विजय’ पनि भनेको छ ।
युद्धविराम भए पनि पाकिस्तान–भारत सीमाका कतिपय क्षेत्रमा अझै त्रास रहेको बताइएको छ । यसैबीच पन्जाबको अमृतसर जिल्ला अझै ‘रेड अलर्ट’मा रहेको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार
















