कञ्चनपुर घटनामा एमाले अध्यक्ष अाेलीकाे स्पष्ट अडान, भारतले माफी माग्नुपर्छ


 


चितवन, फागुन २८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउनुभएको छ । पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो–“अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ । भारतको बलियो छु, भन्ने घमण्ड हो । अर्काको सिमानामा पस्न पाइँदैन । अन्तर्राष्ट्रिय कानुन भारतले पनि मान्नुपर्छ ।”

खाली हात आफ्नो सिमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो सहिद भएको भन्दै उहाँले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताउनुभयो ।

सप्तरी घटनाका सन्दर्भमा कडा टिप्पणी गर्दै उहाँले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप लगाउनुभयो । आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको भन्दै उहाँले भन्नुभयो – “हामी हिंसामा जाँदैनौँ, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्काे हुन्छ भन्न चाहन्छौँ ।”

उहाँले थप्नुभयो – “सबैले बुझे हुन्छ, एमाले आफ्नो अभियानमा दृढ छ । एमाले मर्न परे मरौँला तर यो देश बनाएर छाड्छौँ भनेर हिँडिरहेका छौँ ।” यो देशलाई कसैको उपनिवेश हुन एमालेले नदिने भन्दै उहाँले हाम्रा सन्तानलाई पराधीन देश होइन, स्वाधीन र समृद्धि देश जिम्मा लगाउँछौँ भन्नुभयो ।

सोही सभालाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सप्तरीमा पार्टीको नेतृत्व पङ्क्ति एउटै चिहानमा समाप्त पार्ने कोसिस भएको भन्दै एमालेकै संयमताका कारणले थप दुर्घटना नभएको बताउनुभयो ।

एमालेको उद्देश्य विध्वंसकारी नभएर मधेसमा फैलाइएको भ्रम चिर्नेमात्रै भएको बताउनुभयो । सप्तरी घटना देश टुक्राउन चाहनेहरुले गरेको उहाँले बताउनुभयो । सो घटनाको छानबिन हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

मधेसी, जनजाति, थारु, मुस्लिम, महिला, दलित, हिमाली, पहाडी तराई सबैलाई एमाले विरोधी रहेको भ्रम फैलाइएको भन्दै उहाँले त्यसैलाई चिर्नका लागि मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गरिएको बताउनुभयो ।

नेपालको स्वाधीनताको रक्षाका निम्ति नेकपा (एमाले) कहिल्यै पछि नपर्ने भन्दै उहाँले पार्टीको गतिविधिले जनतालाई छर्लङ्ग पारेको बताउनुभयो । उहाँले भन्नुभयो – “नेकपा (एमाले) त्यसको रक्षा गर्ने सवालमा अरुको मुख ताक्दैन, अग्रपङ्क्तिमा अगाडि बढ्छ ।”

प्रकाशित मिति: २८ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्