विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिए



काठमाडौं । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् ।

विराटले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

विराटले लेखेका छन्, ‘१४ वर्षअघि मैले टेस्ट क्रिकेटमा पहिलोपटक ब्यागी ब्लु जर्सी लगाएको थिएँ । इमानदारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइनँ कि यो ढाँचाले मलाई यस्तो यात्रामा लैजान्छ । यसले मलाई परीक्षा दियो, मलाई परिभाषित गर्‍यो र मलाई जीवनभर साथमा बोक्ने पाठहरू सिकायो । सेतो जर्सीमा खेल्नु मेरो लागि एकदमै विशेष र व्यक्तिगत अनुभव हो । कडा परिश्रम, लामो दिनहरू, साना क्षणहरू जुन कसैले देख्दैनन्, तर ती सधैँभरि मसँगै रहनेछन् । म यो ढाँचाबाट टाढा जाँदै गर्दा, यो सजिलो छैन, तर अहिले यो सही लाग्छ । मैले यसमा मेरो सबैथोक दिएको छु र यसले मलाई अपेक्षा गरेभन्दा बढी दिएको छ । म खेलका लागि, मैदानमा रहेका मानिसहरूका लागि र यो यात्रामा मलाई साथ दिने सबैका लागि आभारी छु । म मेरो टेस्ट करिअरलाई सधैँ मुस्कानका साथ फर्केर हेर्नेछु ।’

विराटले पोस्टको अन्त्यमा आफ्नो जर्सी नम्बर ‘२६९’ र ‘साइन अफ’ लेखेका छन् । यसअघि उनले भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई दिएको र बोर्डले उनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको बताइएको थियो ।

यसअघि बिहीबार रोहित शर्माले सामाजिक सञ्जाल पोस्टमार्फत टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्