सप्तरी झडपमा मृत्यु भएका पाँच जनाको शवयात्रा



राजविराज (सप्तरी), फागुन २८

प्रहरीसंगको झडपमा गोली लागी मृत्यु भएका पाँचजना मधेसी मोर्चा कार्यकर्ताको आज राजविराजदेखि सिरहाको लहानसम्म शवयात्रा निकालिएको छ ।

राजविराजको गजेन्द्र चोकमा मृतक पाँचजनाको पार्थिव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र स्थानीय नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि दिनुभएको थियो ।

जिल्लाको मलेठ–२ का रञ्जन मेहता, मलेठ–४ का वीरेन्द्र महतो, मलेठ–४ का पीताम्बर मण्डल, प्रशवनी गाविस टेङ्रीका आनन्द साह र जमुनी–१ का इनरदेव यादवको मृत्यु भएको थियो ।

राजविराजको गजेन्द्र चोकबाट निकालिएको शवयात्रा हनुमाननगर सडकखण्डअन्तर्गत देउरी भरुवा, तोपा, मनसापुर, हनुमाननगर, भारदह हुँदै बरमझिया, कञ्चनपुर, रुपनी, कल्याणपुर र कदमहा हुँदै सिरहाको लहानसम्म शवयात्रा भएको मधेस राष्ट्रिय समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।

लहानमा पुगेर श्रद्धाञ्जलि कार्यक्रमपछि लहानबाट पुनः कदमहा हुँदै कल्याणपुर, शम्भुनाथ र रुपनी हुँदै राजविराजसम्म शवयात्रापछि मृतकका परिवारलाई जिम्मा दिई दाहसंस्कार गरिने मोर्चाले जनाएको छ ।

आज बिहानैदेखि गरिने भनिएको शवयात्रा वर्षाका कारण केहीबेरका लागि शवयात्रा रोकिएको थियो । नेकपा (एमाले)कोे मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा गत सोमबार आमसभा भएपछि प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा परी प्रहरीले चलाएको गोली लागेर पाँचजनाको मृत्यु भएको थियो ।

सो क्रममा एकजनाको घटनास्थलमै र चारजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News