बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गर्ने हुलाक कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा



काठमाडौं । बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गर्ने हुलाक कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

जिल्ला हुलाक कार्यालय बाराका कार्यालय प्रमुख बलीराम प्रसाद कुर्मीलगायत ६ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

कार्यालयका नासु हाल कार्यालय प्रमुख समेत रहेका कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्म लिँदै आएको र बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखु्सी अपचलन गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा उनले तत्कालीन कार्यालय प्रमुखहरूसँगको मिलेमतोमा बचतकर्ताको बचत गर्नुपर्ने रकम आपसमा बाँडफाँट गरी अपचलन गरेको पाइएको अख्तियारले जनाएको छ।

कुर्मीलगायत जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुखहरू जयलाल प्रसाद साह कानू,अदालतप्रसाद कुर्मी,बुन्नीप्रसाद यादव,सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ।

बचतकर्ताबाट उठेको बचत रकम साँवा ब्याज गरी ५ करोड ३५ लाख ६४ हजार रुपैयाँ बढी रकम हिनामिना गरेको खुलेको अख्तियारको दावी छ।

उनीहरूविरुद्ध ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना माग गरिएको छ।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्