दिल्ली चोरी काण्ड : कैलालीमा आठजना समातिए, प्रहरी मिलेमतोको आशंका



धनगढी । भारतको दिल्लीमा गत ११ अप्रेलमा भएको चोरी प्रकरणमा संलग्न ८ नेपाली नागरिकलाई कैलालीमा पक्राउ गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय दूतावासको आग्रहमा समन्वय गर्दै धनगढीका तीन सुनचाँदी व्यवसायीसहित ८ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा अछामका राजेश, गोकुल र सुरेश साउद, धनगढीका व्यवसायी सुरेश बर्मा, दिपेन्द्र सोप, रोहित सिजापती, गोदावरीका मिनबहादुर गुरुङ र ज्ञानेन्द्र खड्का छन् ।

कानुनी जटिलताका कारण उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको बताइन्छ । दिल्लीमा झापाका देव मल्ल, दोलखाका शंकर लामा र दुई भारतीय नागरिक पक्राउ परेका छन् भने तीन जना फरार छन् ।

प्रहरीले उनीहरूको साथबाट २८ लाख नेपाली रुपैयाँ, २४० ग्राम सुन, १३ तोला सुनका गहना, करिब ५ किलो चाँदी र चार घडी बरामद गरेको छ ।

प्रहरी अनुसार गिरोहले नेपाली कामदारमार्फत चोरीको योजना बनाउने, सुनचाँदी नेपाल ल्याएर व्यवसायीलाई बेच्ने, र केही व्यक्तिले सुरक्षाकर्मीलाई मिलाउने भन्दै पैसा लिने गरेको पाइएको छ ।

यो प्रकरणमा विचौलियाको भूमिकामा अत्तरियाका खड्का र मिनबहादुर थिए । उनीहरु शक्तिकेन्द्रको आडमा विचौलियाको भूमिकामा सक्रिय थिए । व्यवसायी खड्का र हालै इलाका प्रहरी कार्यालय मालाखेतीबाट सरुवा भएका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाको राम्रो दोस्ती थियो ।

हाल प्रहरी हिरातमा रहेका खड्का डीएसपी थापालाई आफ्नै गाडीमा घुमाउने गरेका थिए । सोही कारण उनीहरुबीच कनेक्सन रहेको आशंका गरिएको छ ।

प्रहरीको मिलेमतोमा आर्थिक चलखेल गराएर उक्त धन्दा चलाइएको हुनसक्ने अनुमान छ । कैलाली प्रहरीले व्यवसायी खड्काको बैंक स्टेटमेन्ट पनि माग गरेको छ । यो घटनामा प्रहरीले थप गहिरो अनुसन्धान गरिरहेको छ ।

राजस्थान बस्ने दिल्लीमा घर भएका भारतीय नागरिक कपिल बद्रीलालको घरमा गत ११ अप्रेलमा चोरी भएको थियो ।

भारतीय दूतावासले कपिलको घरबाट २ किलो सुन, २२ लाख भारतीय रुपैयाँ, १० किलो चाँदी र १० वटा घडी चोरी भएको विवरण दिँदै अनुसन्धानमा सहजीकरणका लागि औपचारिक अनुरोध गरेको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्