त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता, खोजी कार्य जारी



नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा दुई बालिका बेपत्ता भएका छन् ।

विद्यालयबाट फर्केपछि मंगलबार साँझ ६ बजेतिर नुहाउन गएका सोही स्थानका ११ वर्षीया बालिकाहरू जेनी डङ्गोल र सदीक्षा राई नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार नदी किनारमा नुहाउने क्रममा सुरुमा एउटा बालिका डुबेपछि उनलाई बचाउने क्रममा दुवै जनालाई बगाएको सँगै नुहाउन गएका उनीहरूका साथीहरूले बताएका छन् ।

बगाएको सूचना पाएलगत्तै खोजी थाले पनि उनीहरूको अवस्था गए राति १० बजेसम्म पत्ता लाग्न सकेको थिएन ।

स्थानीयवासीको साथमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामार्फत उनीहरूको खोजी भइरहेको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्