भारतको अपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपालबाट पक्राउ
काठमाडौं । भारतको पञ्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग राख्दै पृथकवादी गतिविधि गर्दै आएको समूहको एक महत्त्वपूर्ण सदस्य पक्राउ परेका छन् ।
नेपालमा लुक्दै आएका भनिएका बलवीर सिंह भनिने कश्मिर सिंहलाई भारतको राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले मोतिहार प्रहरीसँग चलाएको संयुक्त अपरेशनका क्रममा पक्राउ गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
भारतीय प्रहरीले उनलाई मोतिहारीको नगर थाना क्षेत्रको मोतिझिलबाट पक्राउ गरेको जनाएको छ । तर, कतिपय सुरक्षा अधिकृतहरूले भने सिंहलाई नेपालबाट पक्राउ गरेर लगिएको दाबी गरेका छन् ।
सिंहको खोजीका लागि भारतीय सुरक्षा अधिकृतहरूले यसअघि नेपाल प्रहरीका अधिकृतहरुसँग समन्वय समेत गरेको स्रोतको भनाइ छ ।
प्रहरीका अनुसार, खालितस्तानको लिबरेसन फोर्ससँगै अन्तर्राष्ट्रिय शिख युथ फेडरेसनसँग जोडिएका उनले अपराधिक गतिविधिमा संलग्न अरुलाई समेत नेपालमा सेल्टर दिने गरेको आरोप थियो ।
उनले नेपालमा नागरिकता समेत लिइसकेको भारतीय प्रहरीको दाबी थियो । उनलाई पक्राउ गरेर भारतमा सार्वजनिक गरिएपछि प्रहरी प्रधान कार्यालयको एउटा टोलीले त्यसबारे अध्ययन समेत गरिरहेको छ ।
पटियालास्थित नाभा जेलमा भएको आक्रमणमा ६ जना आतंकवादी र आपराधिक पृष्ठभूमिका व्यक्तिहरू फरार भएका थिए ।
एनआईएले सिंह पञ्जाबको मोहालीमा रहेको इन्टेलिजेन्स कार्यालयमा भएको रकेट आक्रमणमा समेत संलग्न रहेको भनेको छ ।
उनीबारे सूचना दिनेलाई भारतीय प्रहरीले १० लाख रुपैयाँ इनामको समेत घोषणा गरेको थियो ।
प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार
















