शेखर कोइरालासँग कांग्रेसले किन माग्यो स्पष्टीकरण ?
काठमाडौं ।नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले डा.शेखर कोइराला काठमाडौँ फर्किएलगत्तै सभापति शेरबहादुर देउवाले स्पष्टीकरण सोध्ने बताएका छन् ।
प्रतिपक्षीले भन्दा पहिले नै गृहमन्त्री लेखकको राजीनामा किन मागेको भन्ने विषयमा शेखरलाई स्पष्टीकरण सोध्न लागिएको उनले बताए ।
जिम्मेवार नेताले पार्टीमा सरसल्लाह नगरी, छलफल नै नगरी यसरी अभिव्यक्ति दिन नमिल्ने भन्दै आज बिहान बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले यो विषय उठाएर स्पष्टीकरण सोध्न प्रस्ताव गरेको थियो ।
कोईरालाले सार्वजनिक रुपमै गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अभिब्यक्ति दिएका थिए ।
उनी अहिले पाँचथर छन् । उनका सहयोगी दिनेश थपलियाले भने डा. कोइरालाको स्पष्टीकरण सोध्ने भन्ने विषयमा केही जानकारी नआएको बताएका छन् ।
तर, सभापति देउवाले कोइरालासंग स्पष्टीकरण सोध्ने समाचार विभिन्न अनलाइनमा प्रकाशन भईसकेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भन्दै अभिब्यक्ति दिएका कांग्रेसका नेताहरु डा. कोइरालासहित, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोधिने भएको छ ।
यद्यपी नेपाली काग्रेसको आज बिहान बसेको बैठकले गहृमन्त्री निर्दोष रहेको निष्कर्ष निकाल्दै राजिनामा दिनु नपर्ने निर्णय गरिसकेको छ ।
सभापति देउवाले त्यसको प्रतिउत्तर हेर्छु मात्रै भनेका छन् ।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार
















