मनाङमा सडकको हिउँ फाल्न सेना र प्रहरी परिचालन



लमजुङ (बेसीसहर), चैत १

हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

जिल्ला सूरक्षा समितिको बैठक बसी जिल्लामा यातायात सञ्चालनलाई निरन्तरता दिन सेना तथा प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो । बाक्लो हिमपातका कारण मनाङको तिमाङदेखि खाँङसारसम्म सडक पूरै अवरुद्ध भएको र सोमबार चामेबाट सडक सफा गर्ने काम सुरु भएको सहायक प्रजिअ पन्तले बताउनुभयो ।

सडकमा बाक्लो हिउँ जमेका कारण पैदलयात्रासमेत गर्न कठिनाइ भएको पन्तले बताउनुभयो । उहाँले सहज ठाउँमा सेना, प्रहरी एवम् सरकारी कर्मचारीसमेत खटिएर हिउँ फाल्ने काम गरेको र अप्ठेरो ठाउँको हिउँ फाल्नका निम्ति सडक डिभिजन कार्यालयमा डोजर माग गरिएको बताउनुभयो ।

उहाँले चामेस्थित अस्पताल, सरकारी कार्यालय, विद्यालयलगायत ठाउँमा पुग्ने बाटो सफा गरिसकिएको र अब यातायात सञ्चालनका निम्ति सडक सफा गरिरहेको बताउनुभयो । मनाङमा यो वर्षकै धेरै हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।

अत्यधिक चिसोका कारण दुई दिनसम्म मनाङको सञ्चारका साथै विद्युत् पनि अवरुद्ध भएको थियो । मनाङमा भएको हिमपातले अन्नपूर्ण चक्रीय पदमार्गका पर्यटकलाई कठिनाइ परेको थियो । बाटो अवरुद्ध भएपछि केही पर्यटक फिर्ता पनि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News