मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने
महेन्द्रनगर (धनुषा), १९ जेठ । मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा आगामी असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ ।
सम्मेलनको उद्देश्य सङ्घीयताअन्तर्गत शिक्षा क्षेत्रको नीति निर्माण, योजना, कार्यान्वयन र समन्वयमा नयाँ परिप्रेक्ष्य तय गर्नु रहेको छ ।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले सम्मेलनका उद्देश्य, तयारी र सहभागितासम्बन्धी जानकारी गराउनुभयो । “हामी प्रदेश र स्थानीय तहका यथार्थ, चुनौती र सम्भावनालाई आधार मानेर शिक्षामा सुधारका मार्गहरू खोज्दैछौँ”, उहाँले भन्नुभयो, “दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेशका शिक्षामन्त्री तथा सचिवहरू, सङ्घीय शिक्षा मन्त्रालयका प्रतिनिधिहरू, संसद्का समिति सदस्यहरू, विश्वविद्यालय तथा अनुसन्धान संस्थाका विज्ञहरू, शिक्षक सङ्घ, विद्यार्थी सङ्गठन, नागरिक समाज, सञ्चारकर्मी र विकास साझेदारको सहभागिता रहनेछ ।”
मन्त्री शर्माका अनुसार सम्मेलनमा शिक्षण विधिमा नवपरिवर्तन, शिक्षा नीति र शासन, समावेशी तथा न्यायसङ्गत शिक्षा, डिजिटल शिक्षाको रूपान्तरण, समुदायको संलग्नता, प्रमाणमा आधारित अनुसन्धान, मधेस प्रदेशका शिक्षासम्बन्धी चुनौती र अवसर तथा स्रोत परिचालनका विषयमा छलफल हुनेछ ।
मन्त्री शर्माले शिक्षा क्षेत्रमा क्रियाशील विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता र शिक्षकहरूलाई कार्यपत्र वा सारांशसहित सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो । उहाँले सम्मेलनलाई समावेशी, ज्ञानमूलक र नवप्रवर्तनशील बनाइने उल्लेख गर्नुभयो । उहाँका अनुसार सम्मेलनबाट मधेस प्रदेशको शिक्षा नीति कार्यान्वयनमा मार्गदर्शक सुझाव प्राप्त हुने, सङ्घीय शिक्षा नीतिमा योगदान पुग्ने र तीन तहबीच समन्वयात्मक शिक्षा प्रशासनको आधार तयार हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार
















