मधेसी माेर्चाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, यस्ताे छ अान्दाेलनकाे तालिका


 


काठमाडाैं, चैत्र १

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता सँगै माेर्चाले भोलि देखि  आन्दोलनका कार्यक्रम अघि बढाएको छ । माेर्चाले समर्थन फिर्ता लिए पनि सरकार भने अल्पमतमा छैन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा मंगलबार दिउँसो बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

मोर्चासँग आबद्ध सात राजनीतिक दलका ४९ जना सांसदले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्दै आएका छन् । सङ्घीय गठबन्धनको फागुन २४ गते बसेको बैठकले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा सात दिनभित्र फिर्ता लिन सरकारसँग माग गरेको थियो ।

सो मागका विषयमा सरकारले कुनै पनि पहल कदमी नचालेको भन्दै आजदेखि सरकारलाई दिएको सर्मथन फिर्ता लिइएको मोर्चाको भनाइ छ । त्यस्तै मोर्चाको बैठकले विभिन्न तीन चरणका कार्यक्रमसमेत तय गरेको छ ।

पहिलो चरणको आन्दोलनमा चैतमा माध्यामिक तह (कक्षा १०) को परीक्षा पर्ने भएकाले सामान्य विरोधका कार्यक्रम गर्ने, दोस्रो चरणमा दिन बिराएर आन्दोलन तथा विरोधका कार्यक्रम गर्ने र तेस्रो चरणमा बृहत कार्यक्रम गर्ने विषयमा छलफल भएको महासचिव झाले बताए ।

प्रकाशित मिति: १ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्