सावित्री देवी स्मृती प्रतिष्ठानद्वारा समाजमा योगदान पुर्‍याएका व्यक्तिहरु सम्मानित



काठमाडौं । सावित्री देवी स्मृती प्रतिष्ठानले समाजमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।

स्व. सावित्री देवी न्यौपानेको १४ औँ स्मृति दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन् ।

बुधबार काभ्रेपलाञ्चोकको पनौतीमा स्वास्थ्य स्वयमसेविका मनकुमारी लामा, अनिस्मा तामाङ, डा. आशिष लामिछाने र सहकारी अभियन्ता भरतप्रसाद शर्मा सम्मानित भएका हुन् ।

स्वास्थ्यस्वयंसेविका लामा १० हजार, तामाङ १० हजार, अभियान्ता शर्मा २५ हजार र डा. लामिछाने २५ हजार नगदसहित सम्मानित भएका हुन् ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले दोसल्ला र नगदसहित सबैलाई सम्मानित गरिन ।

जेष्ठ नागरिकको उपस्थितीमा भएको कार्यक्रममा अध्यक्ष कोईरालाले समाजमा लागूऔषधको समस्या बढिरहेको बताइन । उनले अहिले डिक्सो, बार र क्लबमा अवाञ्छित गतिविधि भएकाले त्यहाँ निगरानी बढाउन सरकारको ध्यानाकर्षण समेत गराइन् ।

१३ देखि १९ बर्षसम्मका बालबालिकाहरुमा यस्तो लत देखिएको र लागूऔषध बिक्री हुनु राम्रो कुरा नभएको उनको भनाई थियो ।

कार्यक्रममा डा.राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भुषण श्रेष्ठलगायतले प्रतिष्ठानले खेलेको भुमिकाको बारेमा मन्तव्य दिएका थिए ।

प्रतिष्ठानले खोपासीका जेष्ठ नागरिकका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

अभियन्ता श्रेष्ठले २५ हजार नगद सहयोग गरेका छन् । प्रतिष्ठानको कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य, परिवारका सदस्य, जेष्ठ नागरिक, संचारकर्मीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पनौती ११ का वडाअध्यक्ष विपिन लामा, नेपाली सेनाका श्री मेहर गणका गणपतीलगायतको उपस्थिती थियो ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्