पोखरामा ‘स्पा सेन्टर’बाट आठ बालिकाको उद्धार
कास्की । प्रहरीले पोखरा महानगरपालिकामा सञ्चालित तीनवटा ‘स्पा सेन्टर’बाट आठ बालिकाको उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पोखरा महानगरपालिका-६ मा सञ्चालनमा रहेका स्पा सेन्टरबाट बालिकाको उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास शाखाबाट खटिएको टोलीले १८ वर्षभन्दा कम उमेरका आठ बालिकाको उद्धार गरेको हो ।
पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एण्ड ब्युटी केयरबाट दुई र इभेन्डर ब्युटी एण्ड स्पाबाट चार बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका बालिकालाई स्पा सेन्टरहरूले बाल श्रम ऐन, २०५६ विपरीत जोखिमपूर्ण व्यवसायमा लगाएको देखिएकाले उनीहरूलाई कारबाहीको लागि श्रम तथा रोजगार कार्यालय पोखरामा सिफारिश गरिएको छ ।
उद्धार गरिएका बालिकाहरूलाई समेत सोही कार्यालयमा पठाइएको छ ।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार
















