नाउपाबाट उद्योगमन्त्री बनेका चौधरीको बर्खास्तीसँगै पार्टीभित्र फेरि कलह



दाङ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट मन्त्री बनेका चौधरीलाई बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन असार ५ गते नै आग्रह गरेका थिए। तर चौधरीले राजीनामा दिएका थिएनन्।

कृषकका लागि अनुदानमा वितरण गरिएको पावर टिलर (जोत्ने हाते ट्र्याक्टर) का विषयमा लेनदेन गरेको आरोप मन्त्री चौधरीमाथि लागेको थियो।

सोही कारण चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले आग्रह गरेका थिए। मुख्यमन्त्रीको आग्रहलाई बेवास्ता गरेका चौधरी अन्ततः वर्खास्तीमा परेका हुन् ।

उनीमाथि खप्तड क्षेत्र पर्यटन विकास समितिको पदाधिकारी नियुक्तिमा पनि चलखेल गरेको आरोप लागेको छ।

सुदूरपश्चिम प्रदेशमा नाउपाका मन्त्री एकपछि अर्को गरी विवादमा परिरहेका छन्। यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि बनाउँदा आर्थिक चलखेल गरेको आरोप लागेपछि राजीनामा दिएका थिए। उनीपछि मन्त्री बन्न आइपुगेका रामेश्वर चौधरी पनि आर्थिक चलखेलमा मुछिएपछि पद गुमाउन पुगे।

मन्त्री चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी भने रूष्ट बनेको छ। उसले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वमा नेकपा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार थियो।

यो प्रदेशमा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन्। नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई असर पर्ने देखिँदैन।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सांसद भए पुग्छ। कांग्रेस र एमाले मात्रै भए पनि २९ सांसद पुग्छन्।

नाउपाले संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ। चौधरीलाई बर्खास्त गरिएपछि त्यसको प्रतिक्रिया स्वरूप नाउपाले संघ र प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन लागेको हो। यद्यपी संसदीय दलले भने निर्णय गरिसेकेको छैन ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको जनाएपनि औपचारिक निर्णय भने गरिनसकेका बताइन् ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्