हवाई फायरपछि धनुषामा दुई भारतीय नागरिक लागुऔषधसहित पक्राउ
ढल्केबर, ८ साउन । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित बसही खोलानजिकबाट प्रहरीले एक राउन्ड हवाई फायर गरी दुई भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध नियन्त्रण ब्युरो बर्दिबासको संयुक्त टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको हरलाखी थाना–५ का २८ वर्षीय सन्तोषकुमार महतो र बासोपट्टी थाना–२ का ४५ वर्षीय मिथलेश साहु रहेका छन्।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार जाँचका क्रममा प्रहरी टोलीलाई देख्नासाथ दुवै जना भाग्न खोजेपछि लागुऔषध नियन्त्रण ब्युरो बर्दिबासका प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशराज थापाले एक राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि प्रहरीले घेराबन्दी गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका महतोको शरीर खानतलासी गर्दा उनको पाइन्टको गोजीबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार







