संसदमा सोबिताको स्पष्टीकरण : प्रधानमन्त्रीसँग गएका मान्छेहरू फर्किएनन् भनेको छैन राम्रोसँग कान खोलेर सुन्नुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएका नेपालीहरूको बारेमा कसैले अपव्याख्या गर्छ भने त्यो आफ्नो समस्या नभएको बताएकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले भनेकी छिन्–‘प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ । मेरो भनाइ रेकर्डबाट किन हटाउनुपर्ने ?’
उनले सांसदहरूले नेपाल भाषा बुझाइमा समस्या भएका कारण आफ्नो भनाइ हटाउनुनपर्ने त होइन नि ? भन्दै प्रश्न गरिन् ।
सांसद गौतमले भनिन्–‘सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन । जसको समस्या हो, उसैको उपचार गरियोस् ।’
आफूले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएकै मान्छे फर्किएनन् भनेर नभनेको पनि बताइन् ।
‘सभामुख महोदय मैले कहिँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मान्छेहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस्,’ सांसद गौतमले भनिन् ।
उनले आफूले बोलेको कुराको पूर्ण जिम्मेवारी आफैं लिने पनि बताइन् ।
उनले भनिन्–‘मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु । यो सत्य हो, प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो । तर, यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रमको बाहनामा गएर फर्किएका छैनन् र उतै बसेका छन् ।’
प्रधानमन्त्री सहभागी उक्त कार्यक्रम निकै ठूलो भएकाले सयौं एनजीको साइड इभेन्ट पनि रहेको बताइन् ।
उनले भनिन्–‘प्रधानमन्त्री जानुभएको कार्यक्रम ठूलो कार्यक्रम हो । दशौं हजार मानिस सहभागी हुने कार्यक्रम हो । सयौं एनजीओका साइड इभेन्ट पनि हुन्छन् । नेपालबाट सयौं मान्छे सहभागी हुन गएका पनि साँचो हो । केही नफर्किएको पनि साँचो हो ।’
यसअघि हिजो बसेको बैठकमा सांसद गौतमले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकाहरू नफर्किएको समाचारहरू आएको बताउँदै उक्त विषय गम्भीर भएको बताएकी थिइन् ।
सो विषयमा नियमापत्ति जनाउँदै एमाले सांसद महेश बर्तौलाले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । जसबारे आज उनले थप प्रष्ट स्पष्टीकरण दिएकी हुन् ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार
















