काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
कपिलवस्तु । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं.को बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका वडा नं. ९ वेलनदीमा दुर्घटनामा परेको हो ।
बस आफै अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान ४ बजेतिर भएको उक्त दुर्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनालाई उपचारको लागि बुटवल रेफर गरिएको छ भने २१ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार
















