खडेरीले मधेश आक्रान्त, असार अन्तिमसम्म करिब ५९ प्रतिशत मात्रै धान रोपाइँ
काठमाडौं । देशको उत्तरी क्षेत्रमा परेको पानीका कारण बाढी र पहिरोले पाडी जिल्लाहरु अस्तव्यस्त बनेका छन् । तर, मधेश भने खडेरीको चपेटामा परेको छ ।
लामो समयदेखि वर्षा नहुँदा मधेशमा किसानहरूलाई धान रोप्न समस्या भएको छ । अत्यधिक गर्मीले जनजीवनसमेत प्रभावित भएको छ ।
पानी नपर्दा मधेशको कृषि प्रणालीमा समेत प्रतिकूल असर परेको छ । आकाशे पानीमा निर्भर खेती प्रणाली भएकाले खेत सुक्खा भएका छन् ।
पानीको सतह घटेका कारण चापाकल सुकेका छन्, जसले गर्दा खानेपानीको आपूर्तिमा समेत समस्या पैदा भएको छ । हिजोको प्रतिनिधिसभा बैठकमा समेत मधेशका जनता खडेरीले समस्यामा परेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
चुरे क्षेत्रको अन्धाधुन्ध दोहन, वन विनाश र भूमिगत जलस्रोतको अत्यधिक उपयोगका कारण पानीको सतह झन् घट्दो क्रममा छ । बारा, पर्सा, महोत्तरी, रौतहट, सिरहा, धनुषा, सप्तरी, झापा, मोरङ, सुनसरीलगायत जिल्लाहरूमा पानीको अभाव चुलिँदो छ ।
यसैबीच, देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ। कृषि विकास मन्त्रालयका अनुसार हिजो अर्थात असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो। गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो।
प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ। उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ।
कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ। यहाँ ८३ प्रतिशत रोपाइँ भएको छ। लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको हो।
गत वर्ष सोही अवधिमा करिब ६७ प्रतिशत धान रोपाइँ भएको थियो। मन्त्रालयले आइतबारसम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार देशका केही भागमा रोपाइँ जारी छ। आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र राम्रो मानिन्छ। त्यस क्षेत्रबाट धानको उत्पादकत्वसमेतमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ। पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ।
मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ। धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने जनाइएको छ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार
















