कञ्चनपुर घटनाको छानबिन गर्नुपर्छ : राज्यसभा सदस्य


 


काठमाडौँ, चैत्र ६

भारतीय जनता पार्टीका राज्यसभा सदस्य गोपालनारायण सिंहले कञ्चनपुर घटना नेपाल–भारतको सम्बन्ध बिगार्न चाहने असामाजिक तत्वले घटाएको हुनसक्ने बताउनुभएको छ ।

आज राजधानीमा यही चैत २८ देखि वैशाख ४ गतेसम्म भारतको हरिहरनाथदेखि मुक्तिनाथसम्म सांस्कृतिक यात्रा–२०१७ का लागि नेपाल आउनुभएका नेता सिंहले नेपालसँग भारतले गोली चलाउनुपर्ने कुनै कारण नभएकाले कसैले नियोजितरुपमा गरेको हुनसक्ने बताउनुभयो ।

नेता सिंहले कञ्चनपुर सीमामा घटेको घटनाको नेपाल र भारत दुवैतर्फबाट निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । घटनाको छानबिन गर्नका लागि नेपालले औपचारिकरुपमा भारतीय सरकारलाई आग्रह गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांस्कृतिक यात्राकाबारेमा नेता सिंहले नेपाल–भारत सांस्कृतिक, धार्मिक र रीतिरीवाजमा समान भएकाले नेपालको सांस्कृतिक विकासमा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । सांस्कृतिक यात्राले नेपालका धार्मिकस्थल अझ प्रचार हुने र दुवै देशको सम्बन्ध अझ प्रगाढ हुने उहाँले बताउनुभयो ।

सांस्कृतिक यात्रा व्यवस्थापन समितिका सदस्य तथा नेपाल जनता पार्टीका महासचिव खिमनाथ आचार्यले सबै तीर्थ गरिसकेपछि मोक्षप्राप्तिका लागि मुक्तिनाथ पुग्नैपर्ने परापूर्वकालीन परम्परा रहँदै आएकाले त्यसलाई निरन्तरता दिन सांस्कृतिक यात्रा अभियान थालिएको बताउनुभयो ।

विश्व हिन्दू परिषद् नेपाल, नेपाल जनता पार्टी र भारतस्थित धर्म जागरण परिषद्को संयुक्त पहलमा उक्त सांस्कृतिक यात्राको आयोजना हुन लागेको हो । रासस

प्रकाशित मिति: ६ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्