एनआईएमबि ‘एनपिएस–नेशनल कार्ड स्विच’ तथा ‘नेपालय कार्ड’मा आवद्ध
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) र एनसीएचएलबीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।
एनसीएचएलले हालै NPS–NCS को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम NEPALPAY Card इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु NPS–NCS र NEPALPAY Card मा आवद्ध भइरहेका छन् । NEPALPAY पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एनआईएमबिले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
NPS–NCS विभिन्न कार्ड स्विचहरुबीच अन्तर आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एकसेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चितगर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी र १०० भन्दा बढी गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । NPS–NCS र NEPALPAY Card को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।
नेपालका अग्रणी वाणिज्य बैंकहरू मध्ये एक, एनआईएमबीले आफ्नै कार्ड स्विच पूर्वाधार सञ्चालन गर्दै आएको छ । यस पूर्वाधारमार्फत बैंकले ३ वाणिज्य बैंक, ५ विकास बैंक, र १ वित्त कम्पनीसहितका आफ्ना सहायक सदस्य बैंकहरूलाई कार्ड स्विचिङ तथा प्रोसेसिङ सेवा प्रदान गर्दै आएको छ ।
एनआईएमबीको स्विच NPS-NCS मा जोडिएपछि ती सदस्य बैंकहरू पनि स्वतः प्रणालीमा आबद्ध हुनेछन् र NEPALPAY कार्ड इस्यू र अक्वायर गर्न सक्षम हुनेछन् । एनआईएमबिले देशभरी रहेका २७५ वटा शाखा ६५ विस्तारित काउन्टरहरु तथा २६५ एटीएम टर्मिनलमार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार
















