यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार
















