मधेशमा खानेपानीको हाहाकार : असारको अन्तिम दिन आज वारुणयन्त्रमार्फत पानी बाँडियो



जनकपुरधाम । आज असार महिनाको अन्तिम दिन अर्थात असार ३२ गते । असार महिना भनेको वर्षात हुने हुने महिना हो ।

बैशाख अन्तिम दिन अर्थात ३१ गते जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको थियो ।

यसपालिको मनसुन पनि सरदरभन्दा १५ दिन अगावै भित्रिएको थियो ।

विभागले जेठ १६ गते बुलेटिन जारी गर्दै १५ गते रातिबाटै नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरी कोशी प्रदेशको अधिकांश क्षेत्रमा विस्तार भइसकेको उल्लेख गरेको थियो ।

नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ अर्थात् जेठ ३० गते हो। सरदरभन्दा १५ दिन अघि नै मनसुन भित्रिएको विभागको भनाइ थियो ।

तर, यसै वर्ष तराईका जिल्लाहरुमा रोपाईं गर्ने त परै जाओस् खानेपानीको समेत हाहाकार मच्चिएको छ ।

वीरगञ्जलगायतका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले वारुणयन्त्र नै परिचालन गरेको छ ।

बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाउँदै सरकार नागरिकको समस्या समाधानमा समर्पित रहेको बताएका छन् ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू अति प्रभावित क्षेत्रमा पठाइएको हो ।

प्रत्येक वारुणयन्त्रले ५ हजार लिटर क्षमताका दरले एकै पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गर्ने जनाएको छ ।

वारुणयन्त्रहरू २४ घण्टा सञ्चालनमा रहने र त्यसको व्यवस्थापन प्रदेश सरकारले गर्ने छन् भने सञ्चालन नेपाली सेनाले गर्नेछ ।

यसअघि प्रदेश सरकारले वन कार्यालयका तीन वटा ट्याङ्कर मार्फत पनि प्रभावित क्षेत्रमा पानी आपूर्ति गरिरहेका छन् ।

त्यस्तै, नेपाली सेनाबाट थप ७ वटा ट्याङ्कर एउटा वारुणयन्त्र समेत पठाउने तयारी भइरहेको जनाइएको छ।

‘पानी वितरणबारे जानकारी गराउँदै मुख्यमन्त्री सिंहले भनेका छन्–‘सुक्खा र खानेपानी संकटका कारण पिडित नागरिकसँग प्रदेश सरकार साथमा छ । संघीय सरकार, स्थानीय सरकार र दातृ निकायहरूसँग समन्वय गरी साधनस्रोतको अधिकतम प्रयोग गरेर समस्या समाधान गर्ने प्रयासमा छौं ।’

खानेपानी संकटले प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले प्रदेश सरकारले सबै संयन्त्र र स्रोत परिचालन गरेको जनाएको छ ।

लामो समयदेखि वर्षा नहुँदा मधेशमा किसानहरूलाई धान रोप्न समस्या भएको छ । अत्यधिक गर्मीले जनजीवनसमेत प्रभावित भएको छ ।

पानी नपर्दा मधेशको कृषि प्रणालीमा समेत प्रतिकूल असर परेको छ । आकाशे पानीमा निर्भर खेती प्रणाली भएकाले खेत सुक्खा भएका छन् ।

पानीको सतह घटेका कारण चापाकल सुकेका छन्, जसले गर्दा खानेपानीको आपूर्तिमा समेत समस्या पैदा भएको छ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्