मोटरसाईकल चोरीमा संलग्न हरिकुमार र आशिष पेस्तोलसहित पक्राउ



विराटनगर । प्रहरीले मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ गरेको छ ।

मोरङ प्रहरीका अनुसार जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद भएको हो ।

हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपी जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् ।

भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले ‘मेड इन जापान’ लेखिएको १ थान पेस्तोलसँगै एउटा खुकुरी र मोबाइल पनि बरामद गरेको जनाएको छ ।
पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए । उनीहरु अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेका हुन् ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्