धारिलो हतियार प्रयोग गरी एकको हत्या, अर्का गम्भीर घाइते
इलाम । इलामको सूर्योदय नगरपालिका–१ मा एक जनाको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
घटनामा ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते छन् । प्रकाशलाई लिइ निरोज ससुराली घर गएका बेला सूर्योदय १, सिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो ।
त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ ।
शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार
















